.।। भावपूर्ण स्मरण पत्र ।।
![]() |
| स्व. श्रीमती मान कुमारी शिल्पकार (श्रेष्ठ) |
परमपूज्य आमा
स्व. श्रीमती मान कुमारी शिल्पकार (श्रेष्ठ)
(स्वर्गारोहण: २७ फागुङ २०८२ शितला अषटमी)
हामीलाई यो धर्तीमा अवतरण गराएर संसार देखाउने, ममताको खानी एवं साक्षात् शक्तिकी स्वरूप हाम्री प्यारी आमा!
हजूरले आफ्नो भौतिक शरीर त्याग गरेर महाप्रस्थान गर्नुभएको पनि आज दुई मास नाघिसकेको छ। हे आमा! तपाईं हामीलाई छाडेर जानुभएको यतिका दिन भइसक्दा पनि आजसम्म सपनामा समेत किन एक पटक आउनुभएन? किन आमा? म मान्दछु आमा, तपाईं आज हाम्रा माझ हुनुहुन्न, तर तपाईंको स्नेह, त्याग र आदर्श हाम्रा लागि सधैं मार्गदर्शन बनिरहेका छन्। तर आमा, यतिका दिनसम्म सपनामै भए पनि हजुरको दिव्य अनुहारको दर्शन पाउन नसक्दा यो मन साह्रै रुन्छ आमा, साह्रै नै रुन्छ! छिनछिनमा यो मन भक्कानिएर मुटु नै फुट्ला जस्तै गरी गाँठो पर्छ। चन्द्रमाको प्रभावले समुद्रमा छालहरू उर्लिएझैं, हजुरको सम्झनामा मेरो मनमा पनि असंख्य पीडाका छालहरू उर्लेर आउँछन्, अनि गहभरि आँसु छचल्किन्छ। आमा, म के गरूँ?
म अब अबोध बालक पनि त होइन। मलाई यो पनि राम्रोसँग थाहा छ कि मानिसले जन्मँदै मृत्युको तिथि-मिति लिएर आएको हुन्छ। यो शरीर नश्वर छ र जन्म लिएपछि एक दिन नष्ट भएर जानु प्रकृतिको शाश्वत नियम हो। हामी सबै यही प्रकृतिको नियममा बाँधिएका छौं। मलाई यी सबै कुराको ज्ञान हुँदाहुँदै पनि म हजुरलाई भुल्न सकिरहेको छैन आमा, म के गरूँ? भन्नुस् न आमा, म के गरूँ?
त्यसैले, आज श्री ३ कलङ्की( कल्खु अजिमा) आमाकै काखमा बसेर हजुरकै न्यास्रो र सम्झनामा डुबेर गहभरी अश्रुधारा बगाउदै यो भावपूर्ण स्मरण पत्र लेख्दैछु। कल्खु अजिमा यो पत्र हजुर सम अवस्य पुर्याउने छन् भन्नेमा म आश्वस्त छु ।आमा, तपाईंलाई अक्षर वाचन गर्न आउँदैन, त्यसैले त्यहाँ हजुरसँगै रहनुभएका आदरणीय दाजुहरू प्रेम र रमेशलाई यो पत्र पढ्न लगाउनुहोला आमा! अनि तपाईंको यो मायालु र टुहुरो छोराको अक्षम्य पीडालाई सम्झेर, एक पटक भए पनि आकाशको त्यो बादल चिर्दै मेरो सपनामा आइदिनुस् आमा! आएर मेरो शिरमा हजुरको त्यो ममतामयी हातले सुमसुम्याइदिनुस् है आमा, सुमसुम्याइदिनुस्!
आजलाई बिदा आमा...!
हजुरको असीम न्यास्रोमा तड्पिरहेको मायालु टुहुरो छोरा,
प्रकाशमान शिल्पकार
इति: २०८३ साल ज्येष्ठ ४ गते, ज्येष्ठ शुक्ल द्वितीया (पुरुषोत्तम मास)
नेपाल संवत् ११४६ अनलाथ्वः द्वितीया, सोमबार।

No comments:
Post a Comment